वि. सं २०७५ का लागि स्वीकृत पात्रो बजारमा

नेपालमा पञ्चाङ्ग सम्बन्धी कार्य गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक समिति रहेकाे छ । यसले नेपालमा पञ्चाङ्गकाे निर्णय गर्नुका साथै बिभिन्न पात्राे प्रकाशनकाे लागि अनुमति दिने गर्दछ । यस समितिले वि. सं २०७५ का लागि प्रकाशनको स्वीकृति दिएका १३ वटा पात्रो (पञ्चाङ्ग) बजारमा अार्इसकेका छन् । समितिले स्वीकृति दिएका पञ्चाङ्गहरूमा तोयनाथ पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाशदर्शन पञ्चाङ्ग, बंगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग र सिद्धि पञ्चाङ्ग रहेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
यी सबै पञ्चाङ्गहरूले वि. सं २०७४ मा पनि स्वीकृति पाएका थिए । पञ्चाङ्ग निर्णायक समितीबाट स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा घडी, पला, बृहस्पति, शुक्र उदय र अस्तलगायतका तथ्य फरक परेको समितिले जनाएको छ । यस्ता तथ्य फरक परी चाड पर्व पनि फरक पर्दा सर्वसाधारणमा अन्योल हुने गरेको छ ।
वि. सं २०७४ मा समितिको स्वीकृति नलिई प्रकाशन भएका मानसखण्ड र ज्वाला पञ्चाङ्गलाई कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पत्र लेखिएको अध्यक्ष गौतमले बताए ।

नेपालकाे पञ्चाङ्गलाई व्यवस्थित गर्न समितिले मस्यौदा गरी संस्कृति मन्त्रालयमा पेश गरेको नेपाल पञ्चाङ्ग निर्णायक समिति ऐन तीन वर्षअघिदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अड्किएको छ । मन्त्रालयका संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदी मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको समितिलाई कानूनी आधार दिने सम्बन्धमा छलफल भइरहेको बताए ।
मन्त्रिपरिषद्ले ज्योतिष, धर्मशास्त्र, संस्कृति, नेवारी संस्कृति, गुरुङ, तामाङ एवं शेर्पा संस्कृति विज्ञसहितको नौ सदस्यीय समिति गठन गरेको छ । समितिको निर्णय बमोजिम पात्रोले स्वीकृति पाउने गरेका छन् ।

तिथि, बार, योग, नक्षत्र र करण पाँच अंगको समूहलाई पञ्चाङ्ग भनिन्छ । पात्रोमा यी पाँच अङ्गसँगै विभिन्न लग्न, साइत, ग्रह उदय र अस्त एवं ग्रहणका विषय समेत समावेश गरिन्छ । विवाह, व्रतबन्ध, शिलान्यास, ब्रत उपासना, लक्षबर्ती दिपदान, रूद्री, चाैरासी पूजा लगायत बिभिन्न साइतका लागि पनि मानिसले पञ्चाङ्गको खोजी गरिरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *